हप्ताको सबैभन्दा प्रतिक्षित दिन कुन होला? मेरो लागि त निश्चय नै शनिबार। साता भरिको कामको लगाव, पढाइको चाप, र जिम्मेवारीको बोझले थकान थपिन्छ, तर शनिबारको दिन भने ती सबैबाट अलिकति मुक्ति पाउने अवसर हो। पेशागत जीवन र विद्यार्थी जीवनको सन्तुलन मिलाउँदै संघर्ष गर्नेहरूको लागि शनिबार एकदमै मूल्यवान् हुन्छ।
आजको शनिबार पनि त्यस्तै रह्यो। साझको समय थियो। मम्मी खेततर्फ जानुभएको थियो,
अनि म पनि पछि
लागेर मम्मीसँगै गयो। खेतमा पाइला टेक्दै जान्नासाथ मनले रमाइलो महशुस गर्यो। जहाँ
सास फेर्न सजिलो लाग्छ, त्यहाँ पुगेपछि कसलाई शान्ति नलाग्ला र?
मम्मीको नियमित मिहिनेतले खेतभरि हरियाली छाएको थियो। लौका र घिरौलाका बोटहरू
झाँगिदै थिए, काँक्रा फुल्न थालेका थिए। केही ठाउँमा झार उमरेर बिरुवालाई घेरीसकेका थिए,
गोडमेल
गर्नुपर्ने थियो, पानी हाल्नुपर्ने थियो। मैले हात खुट्टा चलाएर झार उखेलें,
बोटबिरुवामा
पानी हालें, र माटो छामें। शारीरिक थकान त महसुस भयो, तर त्यो थकानमा एउटा
अचम्मको शान्ति थियो, एउटा सन्तोष थियो जुन मैले कहिल्यै कार्यालयको सफल मिटिङपछि
पनि पाएको थिइनँ।
दिन ढल्न थाल्यो। सूर्य पश्चिमतिर झुक्दै थियो र बोटका पातहरूमा हल्का सुनौलो
छायाँ खेलिरहेका थिए। म खेतको एक छेउमा बसेर एकछिन स्वास फेरेँ र सोचें,
"म यात्रा कहाँ गर्दैछु?" जिम्मेवारी पुरा गर्नुपर्ने दौडधूपमा के मैले मेरो जरा,
मेरो भुईँ,
र माटोको
गन्धलाई बिर्सेर मात्र अघि बढिरहेको थिएँ? आज फेरि त्यो गन्धमा समाहित भइ मैले आफैंलाई
फेला पाएको जस्तो लाग्यो।
शनिबारलाई कतिले केवल आरामको दिन मान्छन्। हो, म पनि आराम चाहन्छु,
तर मेरो लागि
त्यो आराम ओछ्यानमा होइन, खेतबारीमा भेटिन्छ। माटोको गन्ध, आमाको पसिनाको सुघाइ,
र हरियालीको
सौन्दर्य,यी सबैले मेरो आत्मा चित्त बुझाउने तत्वहरूको रूपमा कार्य गर्छन्।
आज फेरि एक पटक महसुस गरें, जीवनका लक्ष्यहरू, काम, पढाइ, र सफलताको दौड
सबै महत्त्वपूर्ण छन्, तर कहिलेकाहीं आफैंसँग समय बिताउनु र माटोको गन्धमा हराउनु
पनि अत्यन्त आवश्यक छ। यस्ता साना क्षणहरू नै जीवनलाई ताजा र सन्तुलित बनाउन मद्दत
गर्छन्।
लेखक परिचय:
निर्मल धिताल एक युवा लेखक हुन्, जो पेशागत र विद्यार्थी जीवन सँगै आत्मसन्तोष र शान्तिको खोजीमा छन्।
Comments
Post a Comment