Skip to main content

"हामीले पनि रुन पाउनुपर्छ"


सानोमा आमालाई मिठाइ किन्दिनु न भनेर रुँदा,

"छोरा मान्छे भएर रुनु हुन्छ?" भन्ने प्रश्नले

मेरो आँसुलाइ नै अपराध ठहर्यायो।

त्यो दिनदेखि,

मेरो आँखा सुख्खा जमीनजस्तो भयो,

जहाँ आँसु बग्नै पाउँदैनथ्यो।

स्कुलको कक्षामा,

आँखा रातो पार्दै पिडा लुकाएर छिर्दा,

"रुन्चे" भनेर जिस्काउनेहरूका हाँसोले

मेरो भित्री चोटलाई गिज्यायो।

र, म बुझ्दै गएँ

"छोरामान्छे भएर त बलियो देखिनुपर्छ"

भन्ने समाजको नारा

मेरो हृदयमा हथौडाले झैं बजाइरह्यो ।



समाजले भनेको छ,

छोरा मान्छे कमजोर हुनु हुँदैन,

आँसु उसको जीवनको हिस्सा हुँदैन।

तर कसलाई थाहा छ,

कसरी आँसु पिउँदा पिउँदा मनभरि समुद्र बनेको हुन्छ,

कसरी मुस्कानको आवरणले

भित्रका आँधीहरू छोपिन्छन्।


जब हामी हाँस्न पाउँछौं,

सबैले भन्छ्न, "मोज छ जिन्दगी"

तर हामीले रुन खोज्दा,

किन सबै अचम्मित हुन्छन्?

के रुनु खुशी जस्तै भावना होइन र?

के आँसु बहाउनु पनि आत्माको स्वच्छता होइन र?

हास्न हुन्छ भने,

रुन किन नहुने रहेछ?

यो प्रश्नको चित्तबुझ्दो उत्तर,

अहँ! मैले कहिल्यै पाइन ।

रुनु कमजोरी होइन,

यो त हृदयले आफ्नो भारलाई

आकाशमा छोड्ने पवित्र प्रयास हो।

आँसु त कुनै कथा हो,

जो शब्दले भन्न नसक्ने उकुसमुकुसको भाषा बोल्छ।

यो त एउटा गीत हो,

जो मनका अतृप्त आकांक्षाहरूले गाइरहेको हुन्छन।


हास्नेलाई संसारले अँगाल्छ,

तर रुनेलाई किन प्रश्न गर्छ?

रुने हृदय कायर होइन,

यो त साहसी हो,

जो आफ्नो सत्यसँग लड्न सक्ने आँट राख्छ।

आँसु त शान्त समुन्द्र हो,

जहाँ भावना मुक्त भई बग्छ।

यो कमजोरहरूको होइन,

यो त सजीवहरूको गहना हो।


रुन दिनुहोस्,

किनकि आँसु बहनु पवित्र हो।

रुन दिनुहोस्,

किनकि आँसु बगाउँदा मन हल्का हुन्छ।

केवल हाँस्ने होइन,

रुन पनि जिन्दगीको एकरूपता हो।

आखिर,

मनमा गहिरो चोट नहुनेलाई

आँसुको सौन्दर्य के थाहा!


-निर्मल♥️

Comments

Popular posts from this blog

भाइरलको भोक र एजेन्डाको अनिकाल: के हामी साँच्चै सही नेतृत्व खोज्दैछौँ?

  निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो। हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्‍यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ। निर्वाच...

स्वस्तिक छाप भित्र लुकेका हजारौँ सपनाको कथा

चितवन। निर्वाचन आयोगका लागि मतदान केवल एउटा प्राविधिक प्रक्रिया र अंकगणितको खेल हो। तर , एउटा आम नेपाली नागरिकका लागि मतदान केन्द्रको त्यो सानो र गोप्य कुना एउटा यस्तो ' चौतारी ' हो , जहाँ पुगेपछि उसले वर्षौँदेखि गुम्सिएर बसेको आफ्नो मनको बोझ हल्का बनाउँछ। बाकसभित्र खस्ने हरेक मतपत्रमा एउटा फरक अनुहार र एउटा छुट्टै सामाजिक परिवेश लुकेको हुन्छ। विशेषगरी पछिल्लो समय नेपालको राजनीतिमा देखिएको ' घण्टी ' को लहर कुनै आकस्मिक घटना मात्र होइन , बरु यो त दशकौँदेखि थुप्रिएको ' सामूहिक आक्रोश ' (Collective Frustration) को परिणाम हो। राज्यको उपेक्षा , पटक-पटक फेरिने सत्ता समीकरण र उस्तै अनुहारहरूको पुनरावृत्तिले वाक्क भएका जनताका लागि नयाँ शक्तिको उदय एउटा अनिवार्य आवश्यकता बनिसकेको थियो। शक्तिशालीहरूसँग सिधा प्रश्न गर्न नसक्ने निरीह मान्छेले आफ्नो सारा गुम्सिएको आक्रोश र भविष्यको झिनो आशालाई त्यही एउटा ' छाप ' मार्फत बाहिर निकालेका छन्। त्यो एक मिनेटको एकान्तमा उसले कुनै दलको झण्डा होइन , बरु आफ्नो मनको बोझ बिसाएको छ। आजको नेपालमा एउटा शिक्षित युवाले विदेशिने पास...

मानसिक स्वास्थ्यको महत्व, चुनौती र पहलकदमी

  निर्मल धिताल, चितवन। आज बिश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १०, मानव जीवनको गुणस्तर र समृद्धि कायम राख्नका लागि मानसिक स्वास्थ्यको महत्त्व अनिवार्य छ। यो केवल व्यक्तिगत स्वास्थ्यको मामला मात्र होइन, सम्पूर्ण समाजको विकास र समृद्धिमा गहिरो प्रभाव पार्दछ।                                विश्वव्यापी रूपमा, मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्ने व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ, जसले न केवल व्यक्तिगत जीवनलाई प्रभावित गर्दछ, तर समग्र मानव विकास र सामाजिक संरचनामा पनि असर पुर्याउँछ। नेपालमा मात्र होइन, विश्वभरका मानिसहरूले मानसिक स्वास्थ्य समस्याहरूको पीडा भोगिरहेका छन्, जसमा २१.५% नेपाली जनसंख्याले मानसिक स्वास्थ्य समस्या भोगिरहेको तथ्यांकले यथार्थता स्पष्ट रूपमा दर्शाउँछ। सामाजिक लान्छना मानसिक स्वास्थ्य समस्याहरूको प्रमुख चुनौती हो। मानसिक स्वास्थ्यमा समस्या भोग्ने व्यक्तिहरूलाई परिवार र समाजले सामान्यतः नकारात्मक दृष्टिमा हेरिरहेका हुन्छन्। यसले पीडित व्यक्तिहरूलाई उपचार खोज्न र आव...