Skip to main content

"हामीले पनि रुन पाउनुपर्छ"


सानोमा आमालाई मिठाइ किन्दिनु न भनेर रुँदा,

"छोरा मान्छे भएर रुनु हुन्छ?" भन्ने प्रश्नले

मेरो आँसुलाइ नै अपराध ठहर्यायो।

त्यो दिनदेखि,

मेरो आँखा सुख्खा जमीनजस्तो भयो,

जहाँ आँसु बग्नै पाउँदैनथ्यो।

स्कुलको कक्षामा,

आँखा रातो पार्दै पिडा लुकाएर छिर्दा,

"रुन्चे" भनेर जिस्काउनेहरूका हाँसोले

मेरो भित्री चोटलाई गिज्यायो।

र, म बुझ्दै गएँ

"छोरामान्छे भएर त बलियो देखिनुपर्छ"

भन्ने समाजको नारा

मेरो हृदयमा हथौडाले झैं बजाइरह्यो ।



समाजले भनेको छ,

छोरा मान्छे कमजोर हुनु हुँदैन,

आँसु उसको जीवनको हिस्सा हुँदैन।

तर कसलाई थाहा छ,

कसरी आँसु पिउँदा पिउँदा मनभरि समुद्र बनेको हुन्छ,

कसरी मुस्कानको आवरणले

भित्रका आँधीहरू छोपिन्छन्।


जब हामी हाँस्न पाउँछौं,

सबैले भन्छ्न, "मोज छ जिन्दगी"

तर हामीले रुन खोज्दा,

किन सबै अचम्मित हुन्छन्?

के रुनु खुशी जस्तै भावना होइन र?

के आँसु बहाउनु पनि आत्माको स्वच्छता होइन र?

हास्न हुन्छ भने,

रुन किन नहुने रहेछ?

यो प्रश्नको चित्तबुझ्दो उत्तर,

अहँ! मैले कहिल्यै पाइन ।

रुनु कमजोरी होइन,

यो त हृदयले आफ्नो भारलाई

आकाशमा छोड्ने पवित्र प्रयास हो।

आँसु त कुनै कथा हो,

जो शब्दले भन्न नसक्ने उकुसमुकुसको भाषा बोल्छ।

यो त एउटा गीत हो,

जो मनका अतृप्त आकांक्षाहरूले गाइरहेको हुन्छन।


हास्नेलाई संसारले अँगाल्छ,

तर रुनेलाई किन प्रश्न गर्छ?

रुने हृदय कायर होइन,

यो त साहसी हो,

जो आफ्नो सत्यसँग लड्न सक्ने आँट राख्छ।

आँसु त शान्त समुन्द्र हो,

जहाँ भावना मुक्त भई बग्छ।

यो कमजोरहरूको होइन,

यो त सजीवहरूको गहना हो।


रुन दिनुहोस्,

किनकि आँसु बहनु पवित्र हो।

रुन दिनुहोस्,

किनकि आँसु बगाउँदा मन हल्का हुन्छ।

केवल हाँस्ने होइन,

रुन पनि जिन्दगीको एकरूपता हो।

आखिर,

मनमा गहिरो चोट नहुनेलाई

आँसुको सौन्दर्य के थाहा!


-निर्मल♥️

Comments

Popular posts from this blog

कल्पनाको शक्ति: मानसिक शान्ति र सृजनात्मकता प्राप्ति

हामी सबैलाई थाहा छ, धेरै जस्तो हामी  दैनिक कामकाजमा व्यस्त हुन्छौं, जस्तै कार्यालयको काम, पढाइ, घरका साना कामहरू, तर हाम्रो मस्तिष्क भने कहीँ टाढा, कल्पनामा हराएको हुन्छ। तपाईंको शरीर यथास्थितिमा रहन्छ, तर तपाईंको ध्यान भने कुनै कल्पनामा सँगै गुमेको हुन्छ। यो एक सामान्य प्रक्रिया हो, र यसको पछाडि थुप्रै मनोवैज्ञानिक कारणहरू छन्। किन हामी कल्पनामा हराउँछौं? कल्पना गर्दा हामी हाम्रो मानसिकता र सोचमा एक अनौठो यात्रा गर्दै जान्छौं। यसको कारण भनेको हाम्रो मस्तिष्कको विश्रामको आवश्यकता, समस्याको समाधानको खोजी, भावना र इच्छाहरूको पूर्ति, भविष्यको अन्वेषण, र रचनात्मकता हो। जब हामी थाकेका हुन्छौं, हाम्रो मस्तिष्क विश्रामको लागि कल्पना गर्छ। यसले समस्याहरूलाई नयाँ दृष्टिकोणबाट हल गर्न मद्दत पुर्याउँछ, र हामीलाई भावनात्मक राहत दिन्छ। कल्पनाले भविष्यका सम्भावनाहरू अन्वेषण गर्न र नयाँ उद्देश्यहरूको खोजी गर्न मद्दत गर्छ, जसले हाम्रो रचनात्मक सोचलाई सक्रिय बनाउँछ। १. रचनात्मकता र समस्या समाधान समस्या समाधान र सिर्जनात्मक सोचको विषयमा बेजमिन फ्रैंकलिनले भनेका थिए, "सपना देख्नाले केवल कल्पनामा पुर...

'टेन्सन' नालिग न, सब ठिक भैहाल्छ नी !

       कहिलेकाहीँ   हाम्रो   समाज   र   साथीहरूको   सर्कलमा   यस्तो   अवस्था   देखिन्छ ,  जहाँ   कोही   व्यक्ति   भित्रभित्रै   पीडामा   हुन्छ ,  उसको   मुहारमा   गहिरो   चिन्ता   देखिन्छ ,  बोलचाल   कम   हुन्छ ,  तर   हामीले   त्यसलाई   गम्भीर   रूपमा   बुझ्न   खोज्दैनौँ। त्यति   बेला   हामी   सजिलै   भन्छौँ , “ टेन्सन   नलिउ   न ,  बिस्तारै   ठीक   भइहाल्छ   नि।” तर   के   त्यो   यति   सजिलो   कुरा   हो   त ?  कसैको   मनको   घाउ   यति   सामान्य   सल्लाहले   भरिन   सक्छ   त ? कति   पटक   हामीले   आफू   वा   अरूलाई   भनिरहेका   हुन्छौं  ,  टेन्सन   नालिग   न ,  भोलि   सब   ठिक   हुन्छ ,  चाँडै   ठीक   हु...

शनिबारको साँझ: आराम मात्रै हैन, खेतबारी चारम !

  हप्ताको सबैभन्दा प्रतिक्षित दिन कुन होला ? मेरो लागि त निश्चय नै शनिबार। साता भरिको कामको लगाव , पढाइको चाप , र जिम्मेवारीको बोझले थकान थपिन्छ , तर शनिबारको दिन भने ती सबैबाट अलिकति मुक्ति पाउने अवसर हो। पेशागत जीवन र विद्यार्थी जीवनको सन्तुलन मिलाउँदै संघर्ष गर्नेहरूको लागि शनिबार एकदमै मूल्यवान् हुन्छ। आजको शनिबार पनि त्यस्तै रह्यो। साझको समय थियो। मम्मी खेततर्फ जानुभएको थियो , अनि म पनि पछि लागेर मम्मीसँगै गयो। खेतमा पाइला टेक्दै जान्नासाथ मनले रमाइलो महशुस गर्यो। जहाँ सास फेर्न सजिलो लाग्छ , त्यहाँ पुगेपछि कसलाई शान्ति नलाग्ला र ? मम्मीको नियमित मिहिनेतले खेतभरि हरियाली छाएको थियो। लौका र घिरौलाका बोटहरू झाँगिदै थिए , काँक्रा फुल्न थालेका थिए। केही ठाउँमा झार उमरेर बिरुवालाई घेरीसकेका थिए , गोडमेल गर्नुपर्ने थियो , पानी हाल्नुपर्ने थियो। मैले हात खुट्टा चलाएर झार उखेलें , बोटबिरुवामा पानी हालें , र माटो छामें। शारीरिक थकान त महसुस भयो , तर त्यो थकानमा एउटा अचम्मको शान्ति थियो , एउटा सन्तोष थियो जुन मैले कहिल्यै कार्यालयको सफल मिटिङपछि पनि पाएको थिइनँ। दिन ढल्न थाल्यो। सूर...