- Nirmal Dhital
दशैँको टीका थाप्ने बेलामा आशीर्वादभन्दा पहिले अनेकौं सामाजिक प्रश्नहरु बज्ने गर्छन, “अब त बिहे गर्ने बेला भएन?” , ‘अहिलेसम्म बिदेश किन नगएको? ‘’। दशैंको टिका र आशिर्बाद थाप्न जमरा र टिका त तयार भइरहेका हुन्छन्, तर मनको कुनामा चाहिँ यी प्रश्नहरूको डर पनि तयार भइरहेको हुन्छ र यस्तै प्रश्नहरूको चापले हाम्रो अनुहारमा कहिलेकाहीँ अनावश्यक मुस्कान ल्याउछ। “
दशैंको टीका थाप्न हर्ष लाग्ने क्षणमा नजिकका आफन्तहरूले सोधिदिने व्यक्तिगत प्रश्नहरूले खुशीको त्यो सन्दर्भ नै ढाक्ने गर्छन्। उदाहरणका लागि, “बिहे कहिले गर्ने?” भन्ने सोधाइ दशैंको सुखद परम्परामा कालो बादल झैँ ढाक्दै हाम्रा मनमा अनाहक निराशा ल्याउँछ।बिहेको मौसम या सामुहिक चाडमा आफन्त, छरछिमेक, साथीभाइको एउटै प्रश्न हुन्छ, “बिहे कहिले गर्ने? ढिला भएन र?…”। त्यस्तै, “तपाईं विदेश किन नगएको?” भन्ने प्रश्नले त छुटै आत्मग्लानि र असन्तुष्टिको भाव ल्याउँछ, जसरी सामाजिक तुलना चर्किन्छ।
नेपालमा जीवनलाई विशेष स्क्रिप्ट अनुसार चल्नुपर्ने विश्वास रहि आएको छ, पहिले राम्रो पढाइ, त्यसपछि जागिर, अनि विवाह र सन्तान। युवा पुस्ताले व्यक्तिगत स्वतन्त्रता र करियरलाई प्राथमिकता दिन थाले पनि, २५ वर्ष नपुग्दै विवाहको दबाब अनुभव गर्न थाल्छन्। दशैं जस्ता सामूहिक चाडमा परिवारका सदस्यहरू भेट हुँदा जीवनको त्यो अप्रत्याशित “स्क्रिप्ट” अझ स्पष्ट रुपमा प्रदर्शन हुन्छ। परिपक्व स्वरहरूमा “हाम्रो पालामा त हामीले २२/२३ मै बिहे गरे; अब त समय छैन” जस्ता टिप्पणी आउँछन्। यस्ता शब्दहरूले कम अनुभव बहेका युवा मानसपटलमा असहजता भर्ने मात्र होइन, परम्परागत मान्यताको ओइरो ले थप बोझ थोपर्छ। दशैंले ल्याएको सामूहिकता यसरी कहिलेकाहीँ व्यक्तिगत यात्राको तुलनात्मक हिसाब किताबमा परिणत हुन्छ।
जिज्ञासु देखिने यस्ता प्रश्नहरूको पछाडि प्रायः सामाजिक नियन्त्रणको भावना लुकेको हुन्छ। कोही “बिदेश किन नगएको?” भन्छ, जसको साँघुरो अर्थ “तिमीले आफ्नो जीवन ठिकसँग चलाउन सकेको छैन।” भन्ने हुन जान्छ . विवाह, जागिर वा विदेशजस्ता प्रसंगमा सोधिने प्रश्नहरूले हाम्रो व्यक्तिगत यात्रामाथि समाजले थोपर्ने अपेक्षाहरूलाई उजागर गर्छन्। अनि हामी आफैंलाई “के म साचिकै पछी त् परिरहेको छैन?” वा “के मैले नेपालमै बसेर गल्ती गरिरहेको त” छैन?’ भन्ने जस्ता प्रश्नहरु सोध्न थाल्छौं।
यी प्रश्नहरूले कुनै न कुनै रुपमा पक्कै पनि आत्मसम्मानमा चोट पुर्याउँछन्। निरन्तर तुलना र मूल्याङ्कनले आफूलाई असफल ठान्ने सोच पलाउन सक्छ । छोरीहरूको उमेरसँग जोडेर विवाहको प्रश्न गर्नु त झन “एक प्रकारको हिंसा” नै हो, जसले आत्मग्लानि र असुरक्षाको भाव जगाउँछ। जीवनको निजी पाटोहरू बारम्बार खोस्सिँदा भित्रैदेखि थकान पैदा हुन्छ, जसलाई शब्दमा भन्न सकिँदैन तर मनको गहिराइमा महसुस भैरहेको हुन्छ ।
तर दशैंको वास्तविक महत्व यस्ता प्रश्नहरूमा छैन। टीकाको रङ आशिष र एकताको प्रतीक हो, परीक्षा होइन। यस पर्वमा घरपरिवार र आफन्तसँग बसेर जीवनका नयाँ शक्ति र उमङ्ग प्राप्त गर्ने परम्परा रहिआएको छ। टीका थाप्दा प्रेम, सुरक्षा र दीर्घायुको सन्देश सञ्चारित हुन्छ, हामीलाई टाढा धकेल्ने होइन नजिक ल्याउन उत्प्रेरित गर्छ। दशैं जस्ता चाडपर्वहरुको सच्चा शक्ति भनेकै परिवार र संस्कारले दिएको धैर्य हो जसले हामीलाई समाजका प्रश्नहरूको भीडबीच पनि आफ्नै बाटो हिँड्न सक्ने आत्मविश्वास दिन्छ।
Comments
Post a Comment