निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो।
हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ।
निर्वाचनमा पनि यही संयन्त्रले काम गर्छ। कुनै पनि सकारात्मक योजना वा एजेन्डा सुन्दा हाम्रो मस्तिष्कले त्यसलाई विश्लेषण गर्न समय लगाउँछ, तर जब कसैको नियत वा चरित्रमाथि प्रश्न उठाइन्छ, हाम्रो मस्तिष्कको 'एमिग्डाला', जसले भावना र सुरक्षाको खोजी गर्छ, त्यो तुरुन्तै सक्रिय हुन्छ। सकारात्मक 'भिजन' बुझ्न तार्किक क्षमता चाहिन्छ, जुन झन्झटिलो प्रक्रिया हो, तर आरोपले सिधै हाम्रो 'सर्भाइभल इन्स्टिंक्ट' लाई उत्तेजित गराइदिन्छ। यही कारणले गर्दा रचनात्मक बहसभन्दा विनाशकारी आलोचनाले मानिसको ध्यान छिटो खिच्छ।
यसमा 'Gen Z' र नयाँ पुस्ताको सक्रियताले राजनीतिमा एउटा नयाँ ऊर्जा थपेको छ, तर सँगसँगै 'अटेन्सन इकोनोमी' (ध्यान खिच्ने प्रतिस्पर्धा) को चुनौती पनि ल्याएको छ। आजको पुस्ता निकै छिटो र प्रभावकारी सूचना चाहन्छ। लामो घोषणापत्र पढ्ने धैर्यताभन्दा केही सेकेन्डको चोटिलो र व्यङ्ग्यात्मक सामग्री हेर्नु धेरैलाई सजिलो लाग्छ। यही प्रक्रियामा जब कुनै सामग्रीमा गाली वा कडा आलोचना मिसाइन्छ, त्यसले हाम्रो मस्तिष्कमा 'डोपामाइन' को झड्का दिन्छ। हामीलाई लाग्छ, हामीले कसैको 'पर्दाफास' गर्यौँ। यो क्षणिक आनन्दले गर्दा हामी त्यस्ता सामग्रीलाई बिना सोचविचार शेयर गर्छौँ। यसले समाजमा एउटा यस्तो 'इको च्याम्बर' बनाउँछ, जहाँ मानिसहरू केवल आफूलाई मन पर्ने गाली सुन्न र आफूले मन नपराउनेको बदनाम भएको हेर्न मात्र चाहन्छन्।
समाजमा फैलिएको यो गालीगलौजको प्रवृत्तिलाई मनोविज्ञानले 'डिह्युमनाइजेसन' (अमानवीकरण) को रूपमा पनि व्याख्या गर्छ। जब हामी कसैलाई राजनीतिक रूपमा शत्रु देख्छौँ, हामी उसलाई एउटा मान्छेको रूपमा भन्दा पनि एउटा 'विचार' वा 'प्रतिबिम्ब' को रूपमा मात्र हेर्न थाल्छौँ। यसले गर्दा उस विरुद्ध प्रयोग गरिने शब्दहरूको मर्यादा र संवेदनशीलता बिर्सिन्छौँ। सामाजिक सञ्जालमा देखिने 'डिजिटल भीड' ले मानिसको व्यक्तिगत जिम्मेवारीको भावनालाई कम गरिदिन्छ। भीडको ओत लागेर मानिसले ती कुराहरू पनि बोल्छ, जुन उसले एक्लै हुँदा वा आमनेसामने हुँदा बोल्ने साहस गर्दैन।
अझ खतरनाक कुरा त 'कन्फर्मेसन बायस' हो। हामी आफूले विश्वास गरेको पक्षको कमजोरी देख्दै देख्दैनौँ र विपक्षीको सानो गल्तीलाई पनि भयानक अपराधको रूपमा चित्रण गर्छौँ। निर्वाचनको बेला फैलाइने नकारात्मक न्यारेटिभहरू 'कोग्निटिभ आलस्य' मा आधारित हुन्छन्। जटिल समस्या र समाधानका उपायहरू बुझ्न मानसिक ऊर्जा खर्च गर्नुभन्दा कसैलाई "खराब" वा "अक्षम" भन्नु धेरै सजिलो हुन्छ। यसले गर्दा मतदाताको विवेकमाथि भावनाले शासन गर्न थाल्छ।
अन्ततः, फागुन २१ को यो निर्वाचन हाम्रो सामूहिक मनोविज्ञानलाई सुधार्ने एउटा अवसर पनि हो। यदि हामीले गाली मात्र गर्नेलाई 'हिरो' र ठोस एजेन्डा बोक्नेलाई 'बोरिङ' मानिरह्यौँ भने, हामीले प्राप्त गर्ने नेतृत्व पनि उस्तै हुनेछ। 'भाइरल' हुनु र 'योग्य' हुनु बीचको भिन्नता बुझ्न जरुरी छ। मनोविज्ञानले भन्छ घृणा छिटो फैलिन्छ, तर निर्माणका लागि शान्त र तर्कपूर्ण चिन्तन नै चाहिन्छ। त्यसैले यो चुनावी माहोलमा, आफ्नो स्क्रिनमा आउने उत्तेजनालाई भन्दा आफ्नै विवेकको आवाजलाई प्राथमिकता दिने कि?
( लेखक निर्मल धिताल Gen Z उमेर २५ बर्ष का हुन । उनि मनोविज्ञानका विद्यार्थी समेत हुन्। उनी मानव व्यवहार, सामाजिक सञ्जालको प्रभाव र राजनीतिक मनोविज्ञानका क्षेत्रमा रुचि राख्छन । )


Comments
Post a Comment